धर्म ९ ; धर्मको सार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहिल्यै नै हामीले धर्मको व्याख्या गरिसक्यौँ । धर्म भनेको जीवमात्रको स्वभाविक प्राकृतिक गुण हो । र जीवको स्वरूप सेवकको हो । सेवा गर्नु जीवको स्वभाविक धर्म हो । यस धर्मको निरूपण वेदले गरेको छ । यति कुरा पूर्व अध्यायहरूमै प्रष्ट भइसकेको छ । अव सेवा गर्नु धर्म हो भने कसको सेवा गर्ने त ? संसारमा अनेक देवी देवता छन् असंख्य प्राणीहरू छन् के ती सबको सेवा गर्ने ? हो बिल्कुल ती सबैको सेवा गर्नु नै धर्मको उच्चतम् विन्दु हो । तर अव यो कसरी सम्भव छ त ? सारा देव देवी र प्राणीहरूलाई त हामीले चिनेका पनि छैनौँ । फेरि कसरी सबैको सेवा गर्ने ? यस सम्बन्धमा वैदिक सनातन धर्मको निरूपण गर्ने वैदिक सनातन शास्त्रले नै सरल तथा सहज उपाय निरूपण गरेको छ ।
यथा तरोर्मूलनिषेचनेन तृष्यन्ति तत्स्कन्ध भुजोपशाखा ः ।
प्राणोपहाराच्य यथेन्द्रियाणां तथैव सर्वार्हणमच्युंते ज्या ।।
(श्रीमद्भागवत ४.३१.१४)
जसरी वृक्षको जरामा पानी हाल्नाले हाँगाबिँगा, फेद, पात, फूल आदि सवैलाई तृप्ति मिल्छ र जसरी भोजनद्वारा पेटलाई तृप्त गर्नाले सबै इन्द्रियहरू (आँखा, कान, नाक, मुख, हात, खुट्टा आदि) जागृत भइरहन्छन् । बिल्कुलै त्यसैगरी भगवान् श्री अच्युतको पूजा गर्नाले सबैको तुष्टि हुन्छ । यसै विषयमा पदमपुराणमा भगवान शिवजी पार्वतीदेवीसँग भन्नुहुन्छ । “आराधनानां सर्वेषां विष्णोराराधनं परम् ।” सम्पूर्ण प्रकारका दैवी आरधनामा भगवान विष्णुको आरधना सर्वोपरि छ ।
स्वयं भगवान् श्री कृष्ण पनि श्रीमद् भागवदगितामा सम्पूर्ण प्रकारको यो विधि, मार्ग आदिको व्याख्या गरिसकेपछि निष्कर्षको रूपमा १८.६६ मा भन्नुहुन्छ ः
सर्वधर्मान्परित्यज्य मामेकं शरण व्रज
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच ः।।
समस्त प्रकारका लौकिक धर्म परित्याग गरेर मेरो शरणमा आउनु । म तिम्रो समस्त पापबाट उद्धार गर्ने छु, नडराउनु ।
तर अव शरणमा कसरी पर्ने ? श्रीमद्भागवतमा स्वयं यमराजद्वारा यस विषयको निराकरण भएको छ ।
धर्म तु साक्षाद्भगवत्प्रणीतं नवै विदुर्ऋषयो नापिदेवा ः ।
न सिद्धमुख्या असुरा मनुष्याः कुतो नु विद्याधरचारणादय ः ।।
स्वयं भगवानद्वारा प्रणीत धर्मको पूर्ण सत्वगुणमा अवस्थित उच्च लोकका ठूला ऋषि, देवता, सिद्ध प्रमुख आदिले पनि वास्तविक स्वरूप बुझेका छैनन् भने साधारण असुर, मनुष्य, विधाधर वा चरणको त के कुरा ?
स्वयम्भूर्नारद शम्भु ः कुमार कपिलो मनुः
प्रलहादो जनको भीष्मो वलिर्वैयासकिर्वयम् ।।
द्वादशैते विजानिमो धर्मं भगवातं भटा ः।
गुह्यं विशुद्धं दुर्बोधं यं ज्ञात्वामृतमश्नुते ।।
यस वैदिक सनातन धर्मको अति रहस्यमय तथा दुर्वोध ज्ञान केवल व्रम्हा, नारद, शिवजी, चतुः कुमार, कपिलदेव, मनु, प्रल्हाद, जनक, भिष्म, वली, शुकदेवजी र स्वयं यमराज यी १२ महाजन बाहेक अरुले बुझेका छैनन् । यसकारण यो वैदिक रहस्यको बारेमा बुझ्न वा प्रक्रिया जान्न चाहनेले यिनै महाजनहरूको पथमा हिड्ने कोहि सन्त साधुसँग गई जिज्ञासा गर्नुपर्ने हुन्छ । यसै कुरालाई समर्थन गर्दै श्रीमद्भागवतगितामा बताइएको छ ः
तद्विद्वि प्रणिपातेन परिप्रश्नेन सेवया
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्वदर्शिन ः ।।४.३४।।
तत्वदर्शि गुरुको समिपमा गएर विनम्रता पूर्वक सेवा गर्दै जिज्ञासा गर्नाले ज्ञान प्राप्त हुन्छ तर त्यस्ता महाभागवतको प्रदर्शित मार्गलाई पालन गर्ने तत्वदर्शि गुरु कसरी भेट्ने त भन्ने सम्बन्धमा वैदिक प्रमाणहरूको मत यस प्रकार रहेको छ ।
सम्प्रदाय विहिना ये मंत्रास्ते विफला मत ः
अतः कलौ भविष्यंति चात्वर संप्रदायिन ः ।
श्री व्रम्ह रुद्र सनक वैष्णवः क्षितिपावना ः
चत्वारस्ते कलौभव्य ही उत्कले पुरुषोत्तम ।
रामानुजं श्रीही स्विचक्रे मध्वाचार्य चतुर्मुहःस
श्री विष्णुस्वामीनो रुद्रो निंबादित्यं चतुःक्षण ः ।।
सम्प्रदाय विहिन मंत्र, परम्परा विहिन श्रवण, अध्ययन सवै निष्फल हुन्छ । कलियुगका लागि चार आधिकारीक सम्प्रदायहरू हुन् । श्री सम्प्रदाय (रामानुजाचार्य) ब्रम्हमध्व सम्प्रदाय मध्यचार्य) कुमार सम्प्रदाय (निंवार्काचार्य) र रुद्र सम्प्रदाय (विष्णु स्वामी) यी मध्ये कुनै पनि परम्परामा गई योग्य व्यक्तिसँग धर्मको सम्बन्धमा बुझ्न वा जान्न सक्छौँ । गुरुको योग्यता सम्बन्धमा वैदिक शास्त्रमा थप यस प्रकार बताइएको छ ः
षट्कर्मनिपुणो विप्रो मन्त्रतन्त्रविशारद ः
अवैष्णवो गुरुर्नस्यात् वैष्णवः श्वपचो गुरु ः ।।
षड् कर्ममा निपूर्ण, सम्पूर्ण वैदिक ज्ञानमा पारङ्गत भएर पनि यदि उक्त कुनै परम्परा मा पर्दैन भने त्यस्तो व्यक्ति गुरु बन्न योग्य हुँदैन । तर यदि कुकुर भक्षण गर्ने कुलमै जन्मिएको भए पनि वैष्णव छ भने त्यो व्यक्ति गुरु हुन योग्य हुन्छ ।
किवा विप्र किवा न्यासी शूद्र केने नय
येई कृष्ण तत्वेत्ता सेइ ‘गुरु’ हय ।।
व्यक्ति चाहे विप्र होस् वा शुद्र होस् वा सन्यासी होस् ,यदि कृष्ण तत्व बुझेको छ भने ऊ गुरु हुन योग्य छ । (चैःच. मध्य ८१२८)
यस प्रकार गुरुको शरणमा गएर विधि पूर्वक शास्त्रको अध्ययन र श्री हरिनाम ग्रहण गर्नाले भगवान् श्री हरिलाई सन्तुष्ट गर्न सकिने कुरा शास्त्रहरूले बताएका छन् ।
ध्यायन् कृते यजन् यज्ञैस्त्रेतायां द्वापरेऽर्चयन्
यदाप्नोति तदाप्नोति कलौ संकित्र्य केशवम् ।।
(विष्णु पुराण ६.२.१७)
सत्य युगमा ध्यानद्वारा, त्रेतामा यज्ञद्वारा, द्वापरमा श्री विग्रह पूजाद्वारा जो फल लाभ हुन्छ कालि युगमा श्री हरिनाम संकिर्तनद्वारा त्यही फल प्राप्त हुन्छ ।
न देश कलावस्थात्मशुद्धयादिकम् अपेक्षते
किन्तु स्वतन्त्र भैवैतं नाम कामितका मदम ।।
भगवन्नामको किर्तन अन्य समस्त विधि भन्दा पूर्णतया स्वतन्त्र छ र सवै प्रकारको देश, काल, अवस्था, आत्म शुद्धि जातिको इच्छित फल प्रदान गर्न सक्षम छ । (स्कन्ध पुराण)
किं करिष्यति सांख्येन किं योगैर्नरनयक
मुक्तिमिच्छासि राजेन्द्र कुरु गोविन्द कीर्तनाम् ।।
हे राजेन्द्र ! यदि हजुर मुक्त हुन चाहानुहुन्छ भने गोविन्द नामको कीर्तन गर्नुहोस् । सांख्य वा योग आदिले त के गर्न सक्छन् र ?
कलौ भागवतं नाम दुलभं नैव लभ्यते
ब्रम्हरूद्र पदोत्कृष्टं गुरुणां कथितं मम ।।
सारा गुरुजनहरूको मतानुसार महान् भक्तको यश पाउनु नै ब्रम्हा तथा महादेव जस्ता देव पद भन्दा पनि श्रेष्ठ छ । तर कलिमा सो स्थान अत्यन्त दुर्लभ छ । (गरुड पुराण)
हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम्
कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा ।।
यस कलियुगमा गति प्राप्त गर्नका लागि एक मात्र साधन केवल हरिनाम, केवल हरिनाम, केवल हरिनाम यस बाहेक अरु कुनै उपाय छैन, उपाय छैन, उपाय छैन ।
वृहन्नारदीय पुराण (३.८.१२६)
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
इति षोडशंक नाम्नां कलिकल्मष नाशनम्
नात ः परतरोपाय ः सर्ववेदषु दृष्यते ।।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे, यो सोह्र शब्द युक्त महामन्त्र कलि कलमषलाई विनाश गर्न सक्षम छ । सम्पूर्ण वेदमा यो बाहेक अर्को श्रेष्ठतम् उपाय देखिदैन ।
(श्री हरिनाम जप तथा किर्तनको महत्व सम्बन्धमा जिज्ञासु पाठकहरूले कीर्तिकारको श्री हरि नाम महिमामृत ग्रन्थ पढ्नुहुन अनुरोध छ, जस ग्रन्थमा श्री हरिनाम महिमाको अनेक शास्त्रहरूको आधारमा विस्तृत व्याख्या गरिएको छ ।)
निष्कर्षमा भन्नुपर्दा वेद प्रणित धर्म अथवा वैदिक सनातन धर्म केवल जीवको स्वभाविक धर्म हो । वैदिक शास्त्र अनुसार सेवक हुनु नै सम्पूर्ण जीवको स्वरूप भूत अवस्था हो । त्यसै कारणले सेवा गर्नु नै जीवको धर्म हो । तर धर्मको उच्चतम अवस्था भनेको व्रम्हाण्डका सम्पूर्ण वस्तुको सेवा गर्नु हो, जो अखिल विश्व ब्रम्हाण्ड नायक, षड्ऐश्वर्याधि पति सर्वकारण कारक भगवान श्री कृष्ण चन्द्रको सेवा गर्नाले मात्र सम्भव हुन्छ । सेवाको प्रक्रिया केवल १२ महाजनले बुझेका छन् र त्यो प्रक्रिया बुझ्न महाजनहरूका प्रतिनिधि सामु गई प्रक्रियागत रूपले बुझ्नुपर्दछ । कलियुगमा भगवान् श्री हरिलाई सन्तुष्ट बनाउने केवल संकिर्तन यज्ञ मात्र हो ।
र अन्तमा धर्मको सम्बन्धमा विस्तृत रुपमा बुझ्न इच्छुक पाठकबृन्दले “श्रीमद् भागवद् महापुराण, जैव धर्म, दशमूल तत्व” आदि बैदिक ग्रन्थ र यिनै ग्रन्थको आधारमा रचित “धर्म तत्व विवेचना” को अध्यन गर्नुहुन अनुरोध गर्दछु ।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे ।
हरि ॐ तत् सत्

YOUR COMMENTS

स्तम्भकार

नाम: श्रीपाद श्रीवास कृष्ण दास ब्रह्मचारी

प्रचारक, लेखक, अनुशन्धानकर्ता

सस्थापक / कुलपति : Jagannath Foundation , Sri Rupanuga Para Vidyapeeth 

सस्थापक : Jagannath Foods and Beverage Industries , Green Smile Store